काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमरकान्त चौधरीलाई बयानका लागि बोलाएको छ।
चौधरीसहित नौ जनालाई बयानका लागि आयोगको इटहरीस्थित कार्यालयमा उपस्थित गराउन डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरिएको छ। उनीमाथि डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा उजुरी परेको थियो।
उक्त उजुरीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका चौधरीसहित सम्बन्धित व्यक्तिहरूको मिलेमतोमा भ्रष्टाचार भएको दाबी गरिएको स्रोतले जनाएको छ। सोही विषयमा आवश्यक जानकारी लिन तथा सोधपुछ गर्न आयोगले चौधरीसहित नौ जनालाई बयानका लागि उपस्थित गराउन भनेको हो।
तर, आयोगले पटक–पटक पत्राचार गरे पनि चौधरी बयानका लागि उपस्थित हुन अटेर गरिरहेको नगर प्रमुख रामलखन मलाहले बताए । आफूले चौधरीसँग यस विषयमा धेरै पटक सम्पर्क गर्न खोज्दा पनि भेट हुन नसकेको प्रशासनसँग भने ।
उनका अनुसार चौधरी प्रायः आफ्नो निर्वाचन क्षेत्रभन्दा काठमाडौँमै बस्ने गरेका कारण भेट्न कठिन भएको हो। “यस विषयमा चौधरीले पालिकालाई धेरै दुःख दिएका छन्। अख्तियारले बोलाउँदा पनि बयानका लागि जान अटेरी गरिरहेका छन्,” नगर प्रमुख मलाहले भने, “अब यो पटक पालिकाका कर्मचारीमार्फत जसरी पनि उनलाई बयानका लागि अख्तियारको जिम्मा लगाउने छौँ।”


प्रतिक्रिया