काठमाडौं । नेपाली चलचित्र जगतका विशिष्ट व्यक्तित्व तथा वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण उनको ज्यान गएको हो । थापाको असामयिक अवसानले यतिबेला सम्पूर्ण नेपाली कला क्षेत्र शोकमग्न बनेको छ ।
‘राते काइँला’ को उपनामले दर्शकमाझ अमिट छाप छाड्न सफल थापालाई नेपाली चलचित्रको एक बलियो ‘धरोहर’ मानिन्छ । उनले नेपाली चलचित्रमा खलनायकको भूमिकालाई पनि नायक सरहकै चर्चा र सम्मान दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । लामो समयदेखि नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा सक्रिय उनले धेरै स्मरणीय चरित्रहरूमा जीवन्त अभिनय गरेका छन् ।
पारिवारिक सदस्यहरू भारतको मुम्बईमा बस्दै आए तापनि थापा काठमाडौंको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । उनको निधन नेपाली सिने जगतका लागि अपूरणीय क्षति भएको कलाकार संघका अध्यक्ष निरौलाले बताए । थापाको निधनले एक कुशल र अनुभवी अभिनेताको युग अन्त्य भएको छ ।


प्रतिक्रिया