ट्रम्पद्वारा इरानसँग अर्को साता थप वार्ता हुने घोषणा

ट्रम्पद्वारा इरानसँग अर्को साता थप वार्ता हुने घोषणा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो प्रशासनले अर्को हप्ताको सुरुमा इरानसँग थप वार्ता गर्ने जानकारी दिएका छन् । ओमानमा इरानसँग भएको धेरै राम्रो अप्रत्यक्ष संवादको केही घण्टापछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

फ्लोरिडाको मार–ए–लागो क्लवतर्फ जाँदै गर्दा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूहरूले इरानको बारेमा धेरै राम्रो कुराकानी गरेको बताए । सम्झौता कस्तो हुन्छ भनेर हेर्नुपर्ने तर इरान सम्झौता गर्न धेरै इच्छुक देखिएको बताए । उनले अर्को हप्ता पुनः भेट्ने योजना रहेको बताउँदै यदि इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा सम्झौता गर्न असफल भएमा त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी दिए ।

ट्रम्पले सो क्षेत्रमा अमेरिकी नौसेनाको ठूलो युद्धपोतको समूह गइरहेको र चाँडै पुग्ने समेत उल्लेख गरे । स्थानीय सञ्चारमाध्यमका अनुसार ओमानमा भएको उक्त वार्तामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुश्नर र अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर एडमिरल ब्राड कुपर सहभागी थिए ।