अवसरको असमान वितरणले मानिसमा असन्तुष्टि जन्माउँछः गभर्नर पौडेल

अवसरको असमान वितरणले मानिसमा असन्तुष्टि जन्माउँछः गभर्नर पौडेल


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताएका छन् ।

क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले फ्रान्स र चीन जस्ता देशहरूमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भएपनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको बताए ।

गभर्नर पौडेलकाअनुसार नेपालमा पनि उदारीकरण नीतिका कारण केही व्यक्ति धनी भइरहेका छन्, तर यसलाई राम्रोसँग व्याख्या गर्न नसक्दा समस्या देखिएको छ । विशेष गरी नेपाल जस्तो देशमा नवप्रवर्तन ९इन्नोभेसन० आधारित सम्पती कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उनको भनाइ छ ।

गर्भनर पौडेलले भने ‘जतिखेर आर्थिक वृद्धिदरहरू अलिअलि सुरु हुनथाल्छ, त्यतिखेर धेरै ठाउँमा अस्थिरताहरू हुन्छ । यो अध्ययनले पनि देखाएको हो । आर्थिक वृद्धि बढ्दै गर्दा मान्छेहरूमा असन्तुष्टिहरू बढ्छ । अवसरहरू मैले पाइन, अर्कोले पायो की भन्ने हुन्छ । त्यसले गर्दा मान्छेमा विद्रोह हुन्छ । फान्स होस् या चिनमा भएको क्रान्तिमा त्यो देखिएको थियो । मान्छेहरूले आर्थिक ग्रोथको पहिलो चरणमा स्थायित्व बढ्छ भन्ने गरिएको छ ।’

नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावका बारेमा सचेत हुन जरुरी रहेको उनको भनाइ छ । गभर्नर पौडेलले आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको संकेत गरे । जसले गर्दा समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।