युवाका लागि जोखिम मोलेर काँग्रेस सभापति बनेको हुँः गगन

युवाका लागि जोखिम मोलेर काँग्रेस सभापति बनेको हुँः गगन


ग्लोब नेपाल
0
Shares

सिरहा । कांग्रेस सभापति गगन थापाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दलले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने बताएका छन् । सिरहा निर्वाचन क्षेत्र ३ द्वारा मंगलबार आयोजित स्वागत कार्यक्रममा सभापति थापाले काँग्रेसले सरकारमा गएर गफ नभई काम गर्ने दाबी गरे ।

‘वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउनेछन्,’ थापाले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ ।’ हरेक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली थालिने थापाको भनाइ थियो ।

उखान टुक्का र भत्काउने कुराले मात्र नहुने भन्दै उनले सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिने थापाले उल्लेख गरे । त्यसका लागि काँग्रेस र आफूसँग क्षमता रहेको उनले दाबी गरे ।

थापाले काँग्रेसका हरेक उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा गएर गर्ने बाचा पुरा गर्ने जिम्मेवारी आफूले लिने पनि प्रतिबद्धता जनाए । त्यसका लागि जनताले काँग्रेसलाई पहिलो दल बनाउनुपर्ने सर्त उनले राखे । थापाले युवा आकांक्षाअनुसार देश चल्ने र युवाकै चाहनाअनुसार आफूले जोखिम मोलेर पार्टी सभापति बनेको पनि बताए ।