बंगलादेशमा खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

बंगलादेशमा खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

बीएनपीको कमब्याक



ढाका । छिमेकी मुलुक बंगलादेशमा बिहीबार सम्पन्न ऐतिहासिक आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले भारी बहुमत हासिल गरेको छ । झण्डै दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यो चुनावी नतिजासँगै सत्तामा शक्तिशाली पुनरागमन गरेको हो ।

बीएनपीको यो जितसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् पार्टी अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका कुल ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटमा बिहीबार मतदान भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको निधन भएका कारण त्यहाँको निर्वाचन स्थगित गरिएको छ । प्राप्त पछिल्लो विवरण अनुसार, गणना सकिएका सिटहरूमध्ये बीएनपीले करिब दुई तिहाइको हाराहारीमा सिट सुरक्षित गर्ने देखिएको छ ।

ढाका ट्रिब्युन र द डेली स्टारका अनुसार बीएनपी र उसको गठबन्धनले १५० भन्दा बढी सिटमा जित सुनिश्चित गरिसकेको छ भने बाँकी क्षेत्रमा पनि अग्रता कायम राखेको छ । पार्टीका केन्द्रीय निर्वाचन सञ्चालन समितिका प्रवक्ता महदी अमिनले जनताले परिवर्तनको पक्षमा मतदान गरेको भन्दै आफूहरू दुई तिहाइ बहुमतका साथ सरकार बनाउनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

बीएनपीका अध्यक्ष तारिक रहमान दुईवटा निर्वाचन क्षेत्र (ढाका–१७ र बोगुरा–६) बाट भारी मतका साथ विजयी हुनुभएको छ । सन् २००८ देखि उपचारका क्रममा बेलायतमा निर्वासन जीवन बिताइरहेका रहमान गत डिसेम्बरमा मात्र १७ वर्षपछि स्वदेश फर्किएका थिए । उनकी आमा एवम् पूर्वप्रधानमन्त्री खालिदा जियाको गत महिना मात्र निधन भएको थियो । निर्वाचनपछि प्रतिक्रिया दिँदै रहमानले देशको खस्कँदो शान्ति–सुरक्षा सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभएको छ ।

निर्वाचनमा जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धन मुख्य प्रतिपक्षी शक्तिको रूपमा उदायो छ । जमातका प्रमुख शफीकुर रहमानले ढाका–१५ बाट जित हासिल गर्नुभएको छ । त्यस्तै, जुलाई महिनाको विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ शक्ति ‘नेशनल सिटिजन्स पार्टी’ (एनसीपी) ले पनि केही सिटमा जित निकाल्दै संसदमा आफ्नो उपस्थिति जनाएको छ । एनसीपीका संयोजक नाहिद इस्लामले ढाका–११ बाट अग्रता लिइरहेका छन् ।

जुलाई २०२४ मा भएको विद्यार्थी विद्रोहपछि बंगलादेशमा भएको यो पहिलो राष्ट्रिय चुनाव हो । उक्त विद्रोहका कारण सत्ताच्युत भई भारतमा शरण लिइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने यस निर्वाचनलाई ‘फर्जी र असंवैधानिक’ संज्ञा दिनुभएको छ । उहाँको पार्टी ‘अवामी लिग’लाई प्रतिबन्ध लगाइएका कारण यसपटकको चुनावमा उक्त दलको सहभागिता थिएन । हसिनाले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर चुनावको नाटक मञ्चन गरेको आरोप लगाउनुभएको छ ।

आम निर्वाचनसँगै बंगलादेशमा ‘जुलाई नेशनल चार्टर’ सम्बन्धी जनमतसंग्रह पनि सम्पन्न भएको छ । संविधान संशोधन, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन, निर्वाचन प्रणालीमा सुधार, र भ्रष्टाचार नियन्त्रण जस्ता दूरगामी महत्वका विषयमा जनताको राय लिइएको थियो । प्रारम्भिक नतिजा अनुसार ६५.३ प्रतिशत मतदाताले संविधान संशोधनको पक्षमा मतदान गरेका छन्, जसले आगामी दिनमा बंगलादेशको राजनीतिक संरचनामा ठूलो परिवर्तन आउने संकेत गरेको छ ।