काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै अछाम क्षेत्र नम्बर १ को राजनीतिक माहोल निकै तातिएको छ । यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएका बेला दलगत शक्ति सन्तुलनमा ठुलो फेरबदल देखिएको छ ।
निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउँदसहित ७५ जनाभन्दा बढी नेता-कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् । प्रभावशाली नेताहरूले सामूहिक रूपमा पार्टी त्याग गरी एमाले रोजेपछि यस क्षेत्रका उम्मेदवार भीम रावलका लागि चुनौती थपिएको विश्लेषण गरिएको छ ।
अछाम क्षेत्र नम्बर १ मा भीम रावल, नेकपा (एमाले) का दिपक साउँद र नेपाली कांग्रेसका भरतकुमार स्वाँरबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । तर , निर्वाचनको मुखमा आफ्नै दलका प्रभावशाली नेताहरूले साथ छाडेपछि रावललाई धक्का लागेको छ ।
२०७४ सालको निर्वाचनमा एमालेबाटै समानुपातिक उम्मेदवार बनेकी साउँद पछि नेकपा (एकीकृत समाजवादी) हुँदै नेकपाको केन्द्रीय तहमा पुगेकी थिइन् । एकीकृत समाजवादीमा रहँदा उनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् । आफूहरू “घर” फर्किएको उल्लेख गर्दै उनले मुलुकको समृद्धि र विकास एमालेबाट मात्र सम्भव हुने निष्कर्षसहित पार्टीमा फर्किएको बताएकी छन् ।


प्रतिक्रिया