हलो बोकेर खुश्बु ओली सुदूरपश्चिममा

हलो बोकेर खुश्बु ओली सुदूरपश्चिममा


ग्लोब नेपाल
270
Shares

काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ । यसै क्रममा राप्रपाकी समानुपातिक उम्मेदवार खुश्बु ओली यतिबेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम तथा सुगम क्षेत्रहरूमा मतदाताको मन जित्न सक्रिय छिन् ।

पार्टीको केन्द्रीय रणनीति अनुसार चुनावी कमान्ड सम्हाल्दै ओलीले पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा घरदैलो र आमसभालाई निरन्तरता दिएकी हुन् । उनले हालै गण्डकी प्रदेशका तनहुँ, पर्वत, म्याग्दी र बागलुङका विभिन्न स्थानीय तहमा कार्यक्रमहरू सम्पन्न गरेकी छिन् । सो क्षेत्रका कार्यक्रमहरू सकेर उनी लुम्बिनीको रुकुम पूर्व हुँदै यतिबेला कर्णाली प्रदेशको रुकुम पश्चिम पुगेकी हुन् ।

चुनावी सभाहरूलाई सम्बोधन गर्ने क्रममा नेतृ ओलीले राप्रपाको वैचारिक धारलाई प्रस्ट पार्दै राष्ट्रियता, धार्मिक स्वतन्त्रता र सुशासनलाई मुख्य मुद्दा बनाएकी छिन् । उनले स्थानीय विकासका आवश्यकतालाई सम्बोधन गर्दै ‘देशको भलोमा, भोट हालौँ हलोमा’ र ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ जस्ता सन्देशमूलक नाराहरूमार्फत मतदातालाई आकर्षित गरिरहेकी छिन् ।

उनको सम्बोधनमा विशेष गरी युवा स्वरोजगार, भ्रष्टाचारको अन्त्य र सनातन धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । स्थानीय तहमा पुग्दा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनअपेक्षा बुझ्ने र पार्टीको नीतिगत स्पष्टता राख्ने कार्यलाई प्राथमिकता दिएकी छिन् ।

निर्वाचनमा आफ्नो उपस्थिति बलियो बनाउन राप्रपाले केन्द्रीय नेताहरूलाई विभिन्न प्रदेशमा जिम्मेवारी सुम्पिएको छ । सोही योजनाअनुसार ओलीसहितका युवा नेताहरूलाई भूगोल केन्द्रित प्रचार-प्रसारमा खटाइएको पार्टी स्रोतले जनाएको छ ।