काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले २०७९ सालको निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन भई ५० जना विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका नेता कोइरालाले सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले चुनावका बेला गरेको प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेको बताए । उनले मेडिकल शिक्षा विस्तारसँगै स्थानीय स्तरमा रोजगारी, आर्थिक गतिविधि र पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । “विगतको तुलनामा सुन्दरहरैंचाको स्वरूप परिवर्तन भएको छ,” उनले भने । विद्यार्थी संख्या बढ्दै जाँदा वडा नम्बर २ को विकासले थप गति लिने उनको भनाइ थियो ।
कोइरालाले नदी नियन्त्रण, वृन्दावन गौशाला तटबन्धन, तेलिया खोला तटबन्ध, गछिया खोला तटबन्ध, सडक, भवन, मठ–मन्दिर, धार्मिक स्थल, शैक्षिक संस्था तथा मृगौलिया खानेपानी आयोजना विस्तारलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे । यी योजनाले क्षेत्रको समग्र स्वरूपमा परिवर्तन ल्याएको उनले उल्लेख गरे ।
अर्को प्रसंगमा उनले मृगौलियाका किसानका लागि सिँचाइ सुविधा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याए । “एउटा डिप ट्युबवेल भाँचिएको रहेछ, निर्वाचनलगत्तै नयाँ डिप ट्युबवेल जडान हुन्छ,” उनले भने ।
सुन्दरहरैंचालाई अझै व्यवस्थित र विकसित बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै उनले स्थानीयसँग पुनः जिम्मेवारी सुम्पन आग्रह गरे । “सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोडिदिनुस्,” उनले भने ।


प्रतिक्रिया