काठमाडौँ । कास्की जिल्ला अदालत ले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ ।
सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले मुद्दा संशोधनका लागि पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालत मा रिट निवेदन दर्ता भएकाले तत्काल मुद्दा फिर्ता गर्न नमिल्ने ठहर गरेको छ ।
अदालतले सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र थप निर्णय गरिने स्पष्ट पारेको छ । यसअघि रूपन्देही जिल्ला अदालत ले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले भने लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा कास्की जिल्ला सरकारी वकिल कार्यालय ले अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गराएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी ले गत पुस ३० गते लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन् ।


प्रतिक्रिया