भैरहवा । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहान सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । सडक किनारमा बेवारिसे अवस्थामा भेटिएको उक्त वस्तुका कारण केही समय यातायात आवागमन समेत अवरुद्ध भएको थियो ।
बोराभित्र पोको पारेर राखिएको र बाहिर पट्टि ‘नेपाल बन्द सफल पारौं’ भन्ने नारा लेखिएको कागज टाँसिएकाले बम हुन सक्ने आशंकामा सर्वसाधारण त्रसित बनेका थिए । लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार डिस्पोज गर्ने क्रममा उक्त वस्तु केवल सर्वसाधारणलाई त्रसित तुल्याउने उद्देश्यले राखिएको ‘होक्स’ (नक्कली बम) मात्र भएको पुष्टि भएको छ । क्यान बियरको खाली बोतलभित्र माटो र ढुङ्गा भरेर मानिसलाई डराउन खोजिएको प्रहरीले जनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचन बहिष्कारको माग गर्दै नेकपा बहुमतले आज नेपाल बन्दको घोषणा गरेको हो । बन्दका कारण रुपन्देहीसहित आसपासका जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । जिल्लाका मुख्य बजार, व्यापारिक प्रतिष्ठान र उद्योगधन्दाहरू पूर्ण रूपमा खुल्न सकेका छैनन् ।
त्यस्तै, बन्दका कारण विद्यालय तथा शिक्षण संस्थाहरूको पठनपाठन ठप्प भएको छ भने लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरू गन्तव्यमा पुग्न नसकी अलपत्र परेका छन् । ठाउँ-ठाउँमा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको सुरक्षा निकायले जनाएको छ ।


प्रतिक्रिया