दमकको गल्ली-गल्लीमा एमाले अध्यक्ष केपी ओली

दमकको गल्ली-गल्लीमा एमाले अध्यक्ष केपी ओली


ग्लोब नेपाल
54
Shares

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार गृहजिल्ला झापाको दमकमा व्यस्त रहने भएका छन् । आसन्न निर्वाचनलाई लक्षित गरी आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन उनले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिक र कार्यकर्तासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने भएका हुन् ।

निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिति संयोजक इन्द्र भण्डारीका अनुसार ओलीको आजको दौडधुप बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । उनले पहिलो कार्यक्रमका रूपमा ११:३० देखि १२:०० बजेसम्म वडा नम्बर ३ को दुम्से चोक र टुकुरे क्षेत्रमा स्थानीयसँग छलफल गर्ने बताए । त्यसपछि ओली दिउँसो १२:२० देखि १:०० बजेसम्म वडा नम्बर ८ को सङ्गम चोक पुग्नेछन् । त्यहाँ उनले कृष्ण मन्दिर नजिकै रहेको धनपति मैनालीको निवासमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने गरी कार्यतालिका तय गरिएको छ ।

त्यसैगरी , दिउँसो १:२० देखि २:०० बजेसम्म उनी वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुनेछन् । दिउँसोको दोस्रो चरणमा २:२० देखि ३:०० बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा नागरिकसँग भेटघाट गर्ने कार्यक्रम छ । ओलीको आजको भ्रमण कार्यतालिका अनुसार अन्तिम कार्यक्रम अपराह्न ३:२० देखि ४:०० बजेसम्म किराँत चोकमा सञ्चालन हुने भण्डारीले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीको यस भ्रमणको मुख्य उद्देश्य चुनावी तयारीलाई तीव्र बनाउनु र स्थानीयको समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको निर्वाचन कमान्डर देवेन्द्र दाहालले भने । उनले अध्यक्षको यस सक्रियताले स्थानीय कार्यकर्तामा उत्साह थप्ने र चुनावी रणनीतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । आजका सबै कार्यक्रमहरूमा अध्यक्ष ओलीले स्थानीय सर्वसाधारणका गुनासा सुन्ने र पार्टीको भावी योजनाबारे जानकारी गराउने बताइएको छ ।