रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबिच झडप भएको छ ।
झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो ।
सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो ।
स्रोतका अनुसार भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए । त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो ।
आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ । घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ ।
रौतहटका सिडिओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन् ।
अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको सिडिओ भुसालले जानकारी दिएका छन् ।


प्रतिक्रिया