काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति व्यक्त गरेका छन ।
आज (शनिबार) झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको समेत बताएका छन । ओलीले भने,‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो, निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रुपमा अर्थहीन छ ।
प्रयोजनहीन छ ।’ सैद्धान्तिक रुपमा पनि भोलिका दिनमा एउटा नजिर बस्ने बताउँदै समयमै न्याय सम्पादन नहुनु म्याद गुज्रिएको औषधिजस्तो हुने जिकिर गरे ।
‘सैद्धान्तिक रुपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला । एउटा नजिर त बस्ला । तर, न्याय अर्थपूर्ण हुनुपर्छ । म्याद गुज्रिएको औषधिजस्तो, म्याद गुजारिएको न्याय डेट एक्सपायर्ड हुन्छ,’ ओलीले भने ।


प्रतिक्रिया