काठमाडौं । राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा भारतले बङ्गलादेशलाई ४६ रनले हरायो ।
जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९.१ ओभरमा सबै विकेटको क्षतिमा ८८ रनमा समेटिएको थियो । बङ्गलादेशका लागि समिमा सुल्तानाले सर्वाधिक २० रन बनाए ।
यस्तै शर्मिन सुल्तानाले १८ र कप्तान फहिमा खातुनले १४ रन बनाए । बलिङमा भारतका प्रेमा रावतले तीन तथा सोनिया मेन्दिया र तनुजा कन्वारले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । भारतका लागि तेजल हसबनिसले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान राधा यादवले ३६ र दीनेश बृन्दाले १९ रन बनाउनुभयो । बलिङमा बङ्गलादेशकी फहिमा खातुनले चार विकेट लिए । ६ टोली सहभागी प्रतियोगिातमा नेपाल लगातार तेस्रो हार खेप्दै समूह चरणबाट बाहिरिएको थियो ।


प्रतिक्रिया