टी-२० विश्वकप सुपर ८ मा इंग्ल्यान्डको सहज जित, श्रीलंका ९५ रनमा अलआउट

टी-२० विश्वकप सुपर ८ मा इंग्ल्यान्डको सहज जित, श्रीलंका ९५ रनमा अलआउट



काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा घरेलु टोली श्रीलंकामाथि इंग्ल्यान्डले सहज जित निकालेको छ। आइतबार भएको सुपर ८ को आफ्नो पहिलो खेलमा इग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएको हो।

जितसँगै सुपर ८ को ग्रुप २ मा रहेको इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लेको छ। पराजित श्रीलंका तालिकाको पुछारमा छ। समान एक अंक भएको न्यु जिल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ।

यसअघि पाकिस्तान र न्यु जिल्यान्डबीचको सुपर ८ को पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। खेल वास आउट भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए।

इंग्ल्यान्डले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६।४ ओभरमा ९५ रन बनाउँदा अलआउट हुन पुग्यो। श्रीलंका लागि कप्तान दुसान सानाकाले ३० रनको सर्वाधिक योगदान दिए। कमिन्दु मेन्डिसले १३ र दुनिथ वेलागेले १० रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

श्रीलंकालाई कम स्कोरमा रोक्न इंग्ल्यान्डका विल ज्याक्सले सर्वाधिक ३ विकेट लिए। जोफ्रा आर्चर, लियाम डासन, आदिल रसिदले समान २ विकेट लिए। जामी ओभरटर्नले एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि श्रीलंकाको पालकेले इन्टरनेशनल क्रिकेट स्टेठियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रनको योगफल तयार पारेको थियो।

इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ५ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

विल ज्याक्सले २१, कप्तान ह्यारी ब्रुकले १४ र साम करनले ११ रन थपे। जामी ओभरर्टन १० रनमा अविजित रहे। आजै राति सुपर ८ अन्तर्गत समुह १ मा रहेका भारत र दक्षिण अफ्रिका भिड्नेछन्। सो खेल सवा सात बजे सुरु हुनेछ।