कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्याएका छन् ।
राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।
पुटिनले हजारौँ सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राखेका थिए, जसलाई जेलेन्स्कीले आफ्नै जनता र भूमिलाई अलपत्र छाड्ने आत्मघाती कदमको रूपमा व्याख्या गरेका छन् । जेलेन्स्कीका अनुसार पुटिनले विश्वमा आफू अनुकूलको जीवनशैली थोपर्न खोज्दै तेस्रो विश्वयुद्धको सुरुवात गरिसकेका छन् ।
रुसले डोनेत्स्क, खेरसन र जापोरेजियाका महत्त्वपूर्ण सहरहरू बुझाउनुपर्ने माग राखे पनि जेलेन्स्कीले ती क्षेत्रहरू ‘किल्ला’ भएको र त्यहाँका लाखौँ जनतालाई रुसी क्रूरताको भरमा छाड्न नसकिने प्रस्ट पारेका छन् ।
युद्धविरामले पुटिनलाई केही समयका लागि सन्तुष्ट पारे पनि त्यो केवल सैन्य शक्ति पुनर्गठन गर्ने मौका मात्र हुने र दुई-तीन वर्षभित्रै रुसले पुनः अर्को भीषण आक्रमण गर्ने जेलेन्स्कीको दाबी छ ।
पुटिनलाई रोक्ने एक मात्र विकल्प तीव्र सैन्य र आर्थिक दबाब सिर्जना गर्नु नै रहेको उनले बताएका छन् ।


प्रतिक्रिया