रास्वपा मकवानपुर सभापति पराजुली कांग्रेसमा

रास्वपा मकवानपुर सभापति पराजुली कांग्रेसमा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेसमा फर्किएका छन् । सर्लाहीमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पराजुली लामो समयदेखि उक्त पार्टीको संगठन विस्तारमा सक्रिय थिए । रास्वपामा प्रवेश गर्नुअघि उनी कांग्रेसकै राजनीतिमा क्रियाशील रहेका थिए । अघिल्लो निर्वाचनमा पराजुलीले पश्चिमी मकवानपुरको क्षेत्रमा राम्रो जनमत बटुल्न सफल भए तापनि चुनावी नतिजा भने आफ्नो पक्षमा पार्न सकेनन् ।

आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट टिकट पाउने अपेक्षामा रहेका पराजुली पछिल्लो समय पार्टीको आन्तरिक समीकरणप्रति असन्तुष्ट थिए । काठमाडौंका मेयर बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीको सक्रियता बढेसँगै उनले पार्टी छाड्ने निर्णय लिएका हुन् ।

पार्टी परित्यागबारे धारणा राख्दै पराजुलीले रास्वपाभित्र इमानदार कार्यकर्ता र संघर्ष गर्नेहरूको कदर हुन छाडेको बताए । उनले रास्वपालाई ‘पुँजीवादी सोच’ भएको पार्टीको संज्ञा दिँदै त्यहाँ बसेर सच्चा राजनीति गर्न सम्भव नदेखेकाले आफ्नो पुरानै घर फर्किएको स्पष्ट पारे । उनले भने, ‘मैले रास्वपाको संगठन निर्माणका लागि निकै ठूलो मेहनत गरेँ, तर त्यो पार्टी दुःख गर्ने र पसिना बगाउनेहरूका लागि होइन रहेछ ।’