काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।
प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । परिसरले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा निर्वाचन आयोगले फागुन ४ गते पठाएको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको उल्लेख छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘निर्वाचन आयोगको फागुन ३ गतेको पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखी पठाए बमोजिम निवेदक (दुर्गा प्रसाईं)लाई पक्राउ गरिएको भन्ने खुल्न आएकोले सो आयोगबाट प्रसाईं उपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनेर गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू ।’
त्यस्तै, रिटमाथिको सुनुवाइका लागि मंगलबारको पेसी तोक्न पनि अदालतले आदेश दिएको छ । निर्वाचन आयोगको पत्रपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो । हाल उनी प्रहरी हिरासतमा रहेका छन् ।


प्रतिक्रिया