उपचारखर्च जुटिसक्यो, सहयोग रोकिदिनुहोला : साम्बा

उपचारखर्च जुटिसक्यो, सहयोग रोकिदिनुहोला : साम्बा



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि आवश्यक रकम जुटेको भन्दै सहयोग रकम रोकिदन आग्रह गरेकी छन् ।

सोमबार साम्बाले उपचारका लागि सहयोग गर्न अपिल गरेकी थिइन् । तर, त्यसको २४ घण्टामै आवश्यक रकम जुटेको भन्दै उनले समर्थकहरूप्रति आभार जनाएकी छन् ।

“मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ,” साम्बाले भनेकी छन्, “यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।”