टेकुमा जडीबुटी व्यापारीलाई बन्धक बनाउने होटल सञ्चालकसहित तीन पक्राउ

टेकुमा जडीबुटी व्यापारीलाई बन्धक बनाउने होटल सञ्चालकसहित तीन पक्राउ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । आर्थिक लेनदेनको विषयलाई लिएर काठमाडौंमा जडिबुटी व्यापारीलाई अपहरण गरी बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले होटल सञ्चालक र एक स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुस्थित ‘रोडलाइन प्यालस होटल’बाट अपहरणमा परेका व्यापारीलाई उद्धार गरेको हो । प्रहरीका अनुसार उक्त होटलको कोठा नम्बर १०५ मा जडिबुटीको व्यापार गर्दै आएका पूर्णबहादुर बोहरालाई बन्धक बनाएर राखिएको थियो । अपहरणकारीले बोहरालाई केही दिनदेखि सोही कोठामा थुनेर कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले सोमबार तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घटना भएको होटलकै सञ्चालक कास्कीका शिवबहादुर घर्ती, जुम्लाका धनराज बस्नेत र सुर्खेत घर भई हाल कलंकी बस्ने फपेन्द्र न्यौपाने रहेका छन् । पक्राउ परेकामध्ये न्यौपाने टेकुस्थित एक अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) रहेको जानकारी प्रहरीले दिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार आपसी लेनदेनको विवादका कारण बोहरालाई अपहरण गरी होटलमा बन्धक बनाएर शारीरिक यातना दिइएको थियो । पक्राउ परेका तीनै जनामाथि आवश्यक सोधपुछ भइरहेको र थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।