काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि पुनः एकपटक नयाँ प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्ध ३० व्यक्ति, कम्पनी र जहाजमाथि लागु गरिएको छ ।
अमेरिकाको आरोप अनुसार ती व्यक्ति र कम्पनीहरूले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम, ड्रोन निर्माण कार्य तथा गोप्य रूपमा तेल बिक्री गर्न सहयोग गरिरहेका छन् ।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले यी प्रतिबन्धहरूको घोषणा गरेको हो । यसमा इरानको तथाकथित ‘स्याडो फ्लिट’ भनिने केही जहाजहरू पनि समावेश छन् ।
यी पुराना तेल ट्यांकरहरू हुन्, जसको प्रयोग इरानमाथि लगाइएका कडा प्रतिबन्धका बाबजुद गोप्य रूपमा तेल बेच्नका लागि गरिँदै आएको छ ।
प्रतिबन्धअन्तर्गत के कारबाही भयो ?
यी प्रतिबन्धहरूको अर्थ, कारबाहीमा परेका व्यक्ति र कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कुनै पनि सम्पत्ति वा बैंक खाता प्रयोग गर्न पाउने छैनन् । कुनै पनि अमेरिकी कम्पनी वा नागरिकले उनीहरूसँग कारोबार गर्न पाउने छैनन् ।
यद्यपि, यीमध्ये धेरैजसो व्यक्तिसँग अमेरिकामा उल्लेख्य सम्पत्ति छैन । त्यसैले यस कदमलाई धेरै हदसम्म प्रतीकात्मक कदमका रूपमा हेरिएको छ ।
परमाणु कार्यक्रममा छिट्टै वार्ता
अमेरिका र इरानबीच यसै हप्ता जेनेभामा परमाणु कार्यक्रमलाई लिएर वार्ता हुँदै छ । अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र इरानी अधिकारीहरूबीच ओमानको मध्यस्थतामा यो वार्ता हुनेछ ।
वार्ताअघि अमेरिकाले चालेको यो कदमलाई दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ ।
राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन अनुमति नदिइने स्पष्ट पारेका छन् । उनका अनुसार इरानले यसअघि नै ६० प्रतिशतसम्म युरेनियम शुद्धीकरण गरिसकेको थियो, जुन हतियार निर्माणका लागि आवश्यक स्तर (९० प्रतिशत)भन्दा धेरै टाढा छैन ।
अर्कोतर्फ, इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहेको र आफूले कुनै पनि परमाणु हतियार नबनाइरहेको दाबी गर्दै आएको छ ।
ट्रम्प प्रशासनको भनाइमा उसले इरानमाथि ‘अधिकतम दबाब’ कायम राख्नेछ, ताकि इरान आफ्नो परमाणु र सैन्य कार्यक्रम सीमित गर्न बाध्य होस् । अब सबैको ध्यान जेनेभामा हुने वार्तातर्फ केन्द्रित छ ।


प्रतिक्रिया