काठमाडौं । बालबालिकामा कुष्ठ रोगका घटना बढेको पाइएको छ । हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएको हो ।
बालबालिका सङ्क्रमति हुने घटना बढेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले बालबालिकामा नै यो रोगको सङ्क्रमण देखिनु गम्भीर चिन्ताको विषय भएको बताए ।
मानव अधिकारको दृष्टिकोणबाट पनि यो रोग निमिट्यान्न पार्नु आवश्यक रहेको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरे पनि अहिले १६ जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा बढी रोगी भेटिनु चिन्ताजनक रहेको बताए ।
परिवारमा उपचार ढिलो हुँदा बालबालिकामा सङ्क्रमण सर्ने गरेको उल्लेख गर्दै उनले बहुक्षेत्रीय अवधारणाका साथ छिटो पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी विज्ञहरूले कुष्ठरोगलाई राष्ट्रिय प्राथमिकतामा राखेर युद्धस्तरमा काम गर्नुपर्ने साझा निष्कर्ष निकालेका छन् ।


प्रतिक्रिया