टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा



काठमाडौं । आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।

आज भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो ।

दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले अविजित ७५ र रायन रिकेल्टनले अविजित ४५ रन बनाए । यस्तै क्विन्टन डे ककले ४७ रन बनाए ।

त्यसअघि भारतको अहमदावादमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेट गुमाएर १ सय ७६ रन बनायो । वेस्ट इन्डिजका रोमारियो शेफर्डले अविजित ५२ र जेसन होल्डरले ४८ रन बनाए ।

यस्तै आजै हुने दोश्रो खेलमा भारत र जिम्बाबे खेल्दैछन् । भारतको चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे हुँदैछ ।

‘सुपर एट’ अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोलीलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

यो खेलमा पराजित हुने टोलीको सेमिफाइनल सम्भावना कठिन हुनेछ । पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित हुँदा जिम्बाबे वेस्ट इन्डिजसँग १ सय ७ रनले पराजित भएको थियो ।

‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।