सुशासन ल्याउँछु भन्न खोज्दा ‘भ्रष्टाचार गर्छु’ भन्न पुगेँ, माफ गर्नुहोला : आशिका तामाङ

सुशासन ल्याउँछु भन्न खोज्दा ‘भ्रष्टाचार गर्छु’ भन्न पुगेँ, माफ गर्नुहोला : आशिका तामाङ


ग्लोब नेपाल
243
Shares

काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रहेकी आशिका तामाङले आफ्नो भाषणका क्रममा भएको गम्भीर शब्द-त्रुटिप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन् । पार्टी सभापति रवि लामिछानेलाई स्वागत गर्न धादिङको गल्छी चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीबाट उक्त गल्ती भएको हो ।

सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै तामाङले अत्यधिक थकान र हतारोका कारण आफूबाट बोल्ने क्रममा अनपेक्षित चुक भएको बताएकी छन् । तामाङले आफ्नो मन्तव्यमा ‘धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ’ भन्नुपर्ने थियो । तर, लिखित मन्तव्य पढ्ने क्रममा दृष्टिभ्रम भई ‘अन्त्य’ शब्द छुट्न जाँदा ‘भ्रष्टाचार गर्दछु’ भन्ने जस्तो अर्थ लाग्न गएको भन्दै उनले सम्पूर्ण मतदाता र शुभचिन्तकहरूसँग माफी मागेकी छन् ।

विगत एक महिनाभन्दा बढी समयदेखि दैनिक १२ घण्टा (बिहान ७ देखि बेलुका ७ बजेसम्म) निरन्तर घरदैलो कार्यक्रममा खटिँदा आफू निकै थकित अवस्थामा रहेको उनले उल्लेख गरेकी छन् । सभापति लामिछानेको कार्यक्रममा पुग्न हतार भएको, साँझ परेर झपक्क रात परिसकेको र हतार-हतारमा सानो मन्तव्य लेखेर वाचन गर्दा यस्तो प्राविधिक गल्ती हुन पुगेको उनको प्रस्टीकरण छ ।

उनले आगामी दिनमा बोल्दा विशेष सावधानी अपनाउने र भविष्यमा यस्तो गल्ती कहिल्यै नदोहोर्‍याउने प्रतिबद्धता समेत जनाएकी छन् ।