आफ्नो देशविरुद्ध खतरा उत्पन्न गरे ‘पूर्ण रूपमा नष्ट’ गरिदिने किमको चेतावनी

आफ्नो देशविरुद्ध खतरा उत्पन्न गरे ‘पूर्ण रूपमा नष्ट’ गरिदिने किमको चेतावनी



काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ–उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन् । किमले आफ्नो देशको सुरक्षामा खतरा उत्पन्न भए दक्षिण कोरियालाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने बताएका छन् ।

प्योङयाङमा सात दिनसम्म चलेको वर्कर्स पार्टी कांग्रेसको समापनमा किमले आगामी पाँच वर्षका लागि परमाणु र मिसाइल कार्यक्रमलाई तीव्र बनाउने खाका प्रस्तुत गरे ।

उनले पानीमुनिबाट प्रहार गर्न सकिने इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल, सामरिक परमाणु हतियारको विस्तार, परमाणु–सञ्चालित पनडुब्बी, एआई युक्त ड्रोन र उन्नत उपग्रह विकास गर्ने बताए ।

किमले दक्षिण कोरियालाई ‘स्थायी शत्रु’को संज्ञा दिँदै वार्ताको कुनै सम्भावना नभएको बताए । उनले अमेरिकाले प्रतिबन्ध र दबाबको नीति छोडेमा संवाद सम्भव रहेको बताए ।

कांग्रेसपछि राजधानीमा भव्य सैन्य परेड आयोजना गरिएको थियो, जसमा किम आफ्नी छोरीसँग देखिएका थिए । यद्यपि, परेडमा अमेरिकासम्म प्रहार गर्न सक्षम ठूला इन्टरकन्टिनेन्टल व्यालिस्टक मिसाइलहरू भने प्रदर्शन गरिएको थिएन ।

किम एकातिर आफ्नो परमाणु कार्यक्रमलाई थप बलियो बनाइरहेका छन् भने अर्कोतिर अमेरिकासँग भविष्यमा हुन सक्ने सम्भावित वार्ताका लागि विकल्पहरू पनि खुला राखिरहेका विज्ञहरूको विश्वास छ ।