मधेसका ४ जिल्लामा आज काँग्रेसको चुनावी सभा

मधेसका ४ जिल्लामा आज काँग्रेसको चुनावी सभा


ग्लोब नेपाल
513
Shares

काठमाडौँ । नेपाली काँग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। कांग्रेसले आज सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो।

चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।

सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

बुटवलको सभामा उपसभापति पुष्पा भुसाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए । उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् ।