सडकदेखि सुकुम्बासीसम्मका गुनासा सुन्दै ओली, भने- ‘म समाधान गर्छु’

सडकदेखि सुकुम्बासीसम्मका गुनासा सुन्दै ओली, भने- ‘म समाधान गर्छु’


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन् ।

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमकलगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरे । घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठुलो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गरे । विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्बासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए ।

जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा ५ लाई नमुना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ओलीको यो घरदैलो कार्यक्रमले झापा ५ मा चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ । विपक्षी दलहरूले पनि आफ्नो अभियान चलाइरहेका बेला ओलीको यो ‘मास मुभमेन्ट’ ले एमालेको पकडलाई अझ बलियो बनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।