मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह

मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह



भियना । इरानमा अमेरिका-इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबिच मध्यपूर्वको सुरक्षा अवस्था तीव्ररूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले सबै पक्षलाई ‘अत्यधिक संयम’ अपनाउन कडा आग्रह गरेका छन् ।

उनले सम्भावित आणविक जोखिमलाई ध्यानमा राख्दै तत्काल तनाव कम गर्नुपर्ने चेतावनी दिए ।

भियनास्थित आइएइए मुख्यालयमा रुसको अनुरोधमा बोलाइएको असाधारण बैठकलाई सम्बोधन गर्दै ग्रोसीले हालसम्म इरानका कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा आक्रमण भएको सङ्केत आफ्नो एजेन्सीलाई प्राप्त नभएको जानकारी दिए ।

तथापि, क्षेत्रीय सैन्य गतिविधि चर्किदै जाँदा आणविक ऊर्जा संयन्त्र, अनुसन्धान रिएक्टर र इन्धन भण्डारण स्थल जोखिममा पर्न सक्ने उनको चिन्ता थियो ।

“आजको अवस्था अत्यन्त चिन्ताजनक छ”, उनले भने, “हामी सम्भावित रेडियोलोजिकल उत्सर्जनको जोखिमलाई अस्वीकार गर्न सक्दैनौँ, जसले ठूला सहर वा विस्तृत क्षेत्र खाली गर्नुपर्ने अवस्था पनि निम्त्याउन सक्छ ।”

उनले सबै पक्षलाई थप उक्साहटबाट टाढा रहन र अधिकतम संयम अपनाउन पुनः आग्रह गरे । ग्रोसीका अनुसार एजेन्सीले इरानी आणविक नियामक निकायसँग सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि तत्काल प्रतिक्रिया प्राप्त भएको छैन ।

सञ्चार च्यानल चाँडै पुनः स्थापित हुने अपेक्षा उनले व्यक्त गरे । साथै, कूटनीतिक संवाद ‘सकेसम्म चाँडो’ पुनः सुरु गर्नुपर्ने आवश्यकता उहाँले औँल्याए ।