काठमाडौं । आइसिसी पुरुष टी– २० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन् ।
खेल कोलकातास्थित इडेन गार्डेन्समा नेपाली समय अनुसार राति ७ः १५ मा सुरु हुनेछ । दुवै टोलीले हालसम्म उपनधि जित्न सकेका छैनन् ।
सुपर– ८ बाट दक्षिण अफ्रिका समूह ‘ए’ को विजेता तथा न्युजिल्यान्ड समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेका हुन् ।
दक्षिण अफ्रिका जारी प्रतियोगितामा अपराजित एक्लो टोली । यो विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । समूह चरणको खेलमा दक्षिण अफ्रिका सात विकेटको जित निकालेको थियो ।
एडेन मार्करमको कप्तानीमा रहेको दक्षिण अफ्रिका लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्ने लक्ष्यमा छ । गत संस्करणको फाइनलमा दक्षिण अफ्रिका भारतसँग पराजित भएको थियो ।
दक्षिण अफ्रिका क्विनटन डी कक, रायन रिकेल्टन, कोर्बिन बोश, कागिसो राबडाजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।
यता, मिचेल स्यान्टनरको कप्तानीमा रहेको न्युजिल्यान्ड पनि दोस्रो पटक फाइनल पुग्ने सोचमा छ । यसअघि न्युजिल्यान्ड सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
न्युजिल्यान्डलाई रचिन रविन्द्र, टिम शिफर्ट, ग्लेन फिलिप्स, म्याट हेनरीजस्ता खेलाडीले साथ दिनेछन् । टी– २० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच १९ खेल हुँदा दक्षिण अफ्रिकाले १२ र न्युजिल्यान्ड ७ खेलमा विजयी भएका छन् ।


प्रतिक्रिया