निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार÷चार जना स्वयंसेवकले सेवा प्रदान गर्ने छन् । साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर राखी स्थानीय रुपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको जानकारी दिए ।

यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरुका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो । अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पँहुच, मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचारलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ ।

शाखाले स्वयंसेवकहरुलाई मानवीय सेवाका विभिन्न गतिविधिहरू सञ्चालनमा परिचालन गर्दै आएको छ ।