मध्यपूर्वको तनावका कारण नेपाल, ओमान र यूएईबीचको लिग–२ शृङ्खला स्थगित

मध्यपूर्वको तनावका कारण नेपाल, ओमान र यूएईबीचको लिग–२ शृङ्खला स्थगित



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको त्रिदेशीय एकदिवसीय शृङ्खला स्थगित भएको छ ।

मध्यपूर्वको तनावलाई ध्यानमा राख्दै नेपालमा तय भएको लिग–टू शृङ्खला स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । यो शृङ्खला यही फागुन २६ देखि चैत ६ गतेसम्म काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि मैदानमा हुने तय भएको थियो ।

अर्काे सूचना नआएसम्मका लागि लिग–टू शृङ्खला स्थगित गरिएको थप परामर्शपछि नयाँ मिति घोषणा गरिने क्यानले जनाएको छ । युद्धका कारण मध्यपूर्वमा हवाई मार्ग बन्द भएपछि ओमान र यूएईको टोली नेपाल आउन नसकेका हुन् ।

शृङ्खलाका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको थियो ।

आठ वटा देश सहभागी लिग–टूमा नेपाल २० खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । यस्तै ओमान २४ अङ्कसहित चौथो र यूएई १० अङ्कसहित पुछारमा छ ।