काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा गएको शनिवार मारिएमा इरानका तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज राति तेहरानमा हुने भएको छ । नेपाली समयअनुसार भरे राति पौने १२ बजे शुरू हुने बिदाइ समारोह तीन दिनसम्म चल्ने इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच खामेनी मारिएपछि उत्तराधिकारी छान्न इरानी धर्मगुरुहरूले भर्चुअल बैठक गरेका छन् । कुममा रहेका सभाहलमा उपस्थित भएर छलफल गर्ने परम्परा भए पनि इजरायलले सभाहलको परिसरमा बम हानेपछि धर्मगुरुहरू प्रत्यक्ष उपस्थित हुन नसकेका हुन् ।
खामेनीका छोरा मोजतबा खामेनीलाई सर्वोच्च नेता बनाउने तयारी रहेको र नयाँ सर्वोच्च नेता आजै घोषणा हुन सक्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । अहिले उनको अवस्था अज्ञात छ ।
इजरायलले भने इरानको जोसुकै नयाँ उत्तराधिकारी भए पनि यदि उसले इजरायल र अमेरिकाविरुद्धको धम्कीलाई निरन्तरता दिएमा विनाशको मुख्य लक्ष्य बनाइने घोषणा गरेको छ ।
यसैबीच इजरायलले एक विद्यालयमा गरेको आक्रमणमा मारिएका १ सय ६० जनाभन्दा धेरै विद्यार्थी तथा कर्मचारीको अन्तिम संस्कार गरिसकेको इरानले जनाएको छ ।
इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेर युद्ध शुरू गरेको आज पाँचौँ दिन भएको छ । युद्धमा अहिलेसम्म कम्तीमा १ हजार ९७ जना मारिएका अमेरिकामा रहेको मानव अधिकारकर्मी समाचार एजेन्सीले जनाएको छ ।
इजरायल र अमेरिकाले इरानमा लगातार आक्रमण गरिरहेका छन् भने इरानले पनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकाका सैन्य अड्डाहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ ।


प्रतिक्रिया