अत्यावश्यकबाहेक सबै गाडी सञ्चालनमा रोक

अत्यावश्यकबाहेक सबै गाडी सञ्चालनमा रोक



काठमाडौं । प्रतिनिधि सभा चुनावलाई ध्यानमा राखी गएराति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगको सिफारिसमा सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान नहुन्जेलसम्म गाडी सञ्चालनमा रोक लगाइएको हो ।

आयोगले अत्यावश्यक सेवा, कूटनीतिक नियोग र पास भएका गाडीलाई भने सञ्चालन अनुमति दिएको छ ।

कस्ता गाडी चलाउन पाइन्छ ?

अत्यावश्यक सेवा : दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूरसञ्चार, विद्युत् र ढल मर्मतका गाडीहरू ।

दैनिक उपभोग्य वस्तु : दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका गाडीहरु ।

स्वास्थ्य सेवा : अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन–जान प्रयोग हुने गाडी ।

हवाई यात्रु : अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका गाडी (विमानस्थलसम्म वा घररहोटलसम्म जान) ।

अशक्त तथा बिरामी : हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजको एक जना सहयोगी बोकेका गाडी ।

कूटनीतिक र अन्य : नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका गाडी, आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक र प्रेस पास भएका सञ्चारकर्मीका गाडी ।