गणेशमान सिंह कहाँ भेट्न जाने प्रायलाई उनले भन्ने गर्थे रे- मने राजनीति गर्छु भन्नेले महाभारत त पढेको हुनुपर्यो नि।
सिंगो महाभारतमा न अटाएको केही छैन। सृष्टिको बिकासक्रमदेखि कृष्णको प्रेम, शकुनीको षडयन्त्र, भीष्मको प्रतिज्ञा, कर्णको मित्रता अरु थुप्रै कथा र पात्रहरु छन्। महाभारत यसरी रचना गरिएको छ कि हरेक पात्र उत्तिकै महत्वपूर्ण देखिन्छन्। | आज चर्चा गर्न खोजिएका पात्रहरु हुन् बार्बरिक, अभिमन्यु र इरावन।
इरावन अर्जुनको छोरा हो। महाभारत युद्धमा पाण्डवको जितका लागि युद्धअघि मानव बली दिनुपर्ने भएपछि उसले आफुलाइ बली चढाउन तयार भएको कथा छ। युद्ध गर्न योग्य उमेरको उसलाई पनि वीर योद्धा भनेर चित्रित गरिएको छ।
अर्को पात्र हो अभिमन्यु। ऊ कुरुक्षेत्र युद्धमा कौरबहरुद्वारा तयार गरिएको चक्रब्युहमा त पस्यो तर निस्कन सकेन। उसलाई मार्न द्रोण, जयद्रथ्, दुर्योधन, कर्ण सबै लागे। एउटा आशालाग्दो धनुर्धर आफ्नाहरुकै घेरामा पर्यो र मारियो।
तेस्रो बर्बरिक – ऊ अत्यन्त शक्तिशाली थियो। उसलाई गजबको ३ बरदान थियो। तर उसले जो कमजोर छ उसलाई सहयोग गर्ने प्रण खाएको थिय। यस अर्थमा उसको समर्थनले कमजोर देखिएको बलियो हुन्थ्यो र बलियो देखिएको कमजोर। बर्बरिकको यो निर्णयले उसले पक्ष बदलिरहनु पर्नेहुन्थ्यो र ऊ एक्लैको कारणले दुबै पक्षको सम्पूर्ण सेनाले बिनाश मात्रै बेहोर्नु पर्नेहुन्थ्यो। युद्ध अनन्त समय जाने निश्चित थियो | ऊ एक्लैले धर्म युद्ध बिना नै महाभारत युद्ध अन्त्य गर्न सक्ने क्षमता राख्थ्यो तर कृष्णको आग्रहमा उसले आफुलाई बली चढायो र युद्ध नसकिन्जेल साक्षीको रुपमा हेरेर बस्यो |
भीमको नाति घटोत्कचको छोरा बर्बरिकसहित माथि उल्लेख गरिएका सबै पात्र अहिलेको जेन्जी उमेरका थिए भनेर अन्दाज लगाउन गार्हो छैन।
जुन दियोले सबैभन्दा बढी उज्यालो दिन्छ त्यसको तेल पनि सबैभन्दा पहिले सकिन्छ। शायद महाभारत युद्धमा पनि त्यही नियम लागु भएको थियो र हरेक ऐतिहासिक परिवर्तनहरुमा पनि यही नियम लागु हुन्छ । सत्यका लागि मर्न तयार हुने युवाहरु इरावन जस्तै हुन्छन्। आफुलाई खुशी खुशी समर्पण गर्छन् र परिवर्तनको शंखनाद गर्छन्। केही इमान्दार भएर परिवर्तनको आन्दोलनमा लाग्छन् ,नेतृत्व पनि गर्छन् तर सत्ता र शक्तिले तिनलाई यसरी दबाइ दिन्छ मानौं अभिमन्यु तिनको चक्रब्युह तोड्न आएको छ। ऊ तीनको चक्रब्युहमा पर्छ र मारिन्छ। सत्य, निष्ठा र धर्ममा हिंड्ने मानिसहरू पनि अन्यायपूर्ण तरिकाले मर्न सक्छन्। केही नेतृत्व गर्ने पात्रहरु केवल सत्तारुपी महाभारत हेर्ने साक्षीका रुपमा बाँकी रहन्छन्। तिनको नेतृत्वको अस्वाभाविक अवसानले अवशाद पनि ल्याउँछ तर वास्तविक मुद्दाहरु छायाँमा पर्छन् अनि ती केवल साक्षी बन्न बाध्य हुन्छन्।
महाभारतमा पनि यी सबै पात्रहरुलाई जेन -जी उमेरको नै किन देखाइएको होला ?
अभिमन्यु -पूर्ण ज्ञान बिनाको युवा जोश र साहस। शक्ति र सत्ता संचालनलाई बुद्धि आवश्यक हुन्छ। साहस मात्र कहिल्यै पर्याप्त हुँदैन। त्यसको साथमा अनुभव र ज्ञान आवश्यक हुन्छ। अभिमन्युले चक्रब्युहमा बस्ने मात्रै ज्ञान पाएको थियो त्यसलाइ तोडेर सफलतापुर्वक निस्कने ज्ञान थिएन। त्यो ज्ञान नभएको उसले परिपक्वता देखाउंदै चक्रब्युहमा नपस्ने वा बैकल्पिक बाटोबाट युद्ध गर्ने उपाय निकाल्नुपर्थ्यो । उसको अनुभवको कमी उसको लागि प्रत्युत्पादक हुन पुग्यो।
इरावनले आफुलाई बली चढाउनु अघि कृष्णसँग गजबको सहयोग मागेको छ। उसले मर्नुअघि विवाहको चाहना राखेपछि कृष्णले मोहिनी रुपमा उसँग बिवाह गरेको कथा पढ्न पाइन्छ।हो युवासँग आक्रोश, साहससँगै भावना जोडिएको प्रेम अबिछिन्न हुन्छ। ऊ मनमौजी हुन्छ, पुर्वानुमान गर्न सकिन्न। तर देश चलाउनका लागि त्यति मात्र पर्याप्त हुँदैन। युद्ध होस् वा देश भावनाले चल्दैन न बर्बरिकको जादुइ तीन शक्तिले चल्छ, यो त योजना र सिद्धन्तहरुले चल्छ।
महाभारतले एउटा गजबको संदेश के दिएको छ भने कृष्ण महाभारत युद्धलाई तत्काल रोक्न सक्थे वा बर्बरिक जस्ता पात्रहरुमार्फत त्यो गर्न सक्थे। तर त्यो युद्धमा मानविय प्रयास देखियोस्, राजनीतिक र रणनीतिक सुझबुझ देखियोस् ,धर्म र अधर्म प्रकट होस् ,परिपक्वता र ऊर्जामात्रैको भिन्नता देखियोस् ,भावनाको भन्डार र भावनाहिनता देखियोस् भन्ने चाहन्थे। मान्छेको ब्यक्तिगत जीवन, युद्ध वा देश कुनै चमत्कारले कायापलट हुन्छ भन्ने भ्रम हैन, कृष्णले निरन्तर ज्ञान , संघर्ष,अनुभव बटुल्दै केही अत्यन्त प्रिय व्यक्ति र कुरा छोड्दै सफल हुन्छ भन्ने शिक्षा दिन चाहन्थे।
बर्बरिकको कमजोरीलाई सघाउने प्रण बढी भावनात्मक छ। कमजोर सधैं सत्यको पक्षमा हुन्छ भन्नु आलोकाँचोपनको संकेत पनि हो। सत्यको पक्षमा लाग्दालाग्दै स्वयम्को अस्तित्व संकटमा पार्नु पनि बुद्धिमानी होइन।
इरावन -स्वार्थबिहिन समर्पण र शहादतको प्रतीक हो। त्यागले सत्यलाई टिकाइराख्छ। सत्यको पक्षमा अडिन सहज छैन त्यो युवाहरुले गर्न सक्छन्। तर नि:स्वार्थ समर्पण पनि कहिलेकाँही प्रत्युत्पादक हुन्छ। भीष्म पितामहले पनि लगभग त्यही उमेरमा भावनामा बगेर गरेको एउटा निर्णयले उनी राजा नहुने मात्रै भएन, सत्यवतिको सन्तान राजा हुने क्रम चल्यो र महाभारत निम्त्यायो। निस्वार्थ समर्पणसंगै परिस्थितिको मूल्याकंन ,बिश्लेषण अनुभवी निर्णय अनिवार्य हुन्छ।
महाभारत युद्धमा दुर्योधन,दुस्सासनसँग छोरा पाण्डव पक्षको छोरा पुस्ताले किन जित निकाल्न सकेन ? किन जेन्जी उमेरको एकलब्यले गुरु दक्षिणास्वरुप आफ्नो औंला काटेर दिनुपर्यो ? यी सबैको एउटा साझा उत्तर छ – परिपक्वता र अनुभवले भावनालाइ सधैं जित्छ। अर्को महाभारतमा उल्लेखनीय पात्र बब्रुवाहन। ऊ अर्जुन र उल्लुपिको छोरो हो। अर्जुन अशमेध यज्ञको सिलसिलामा हिंड्दा उसको भेट छोरा बब्रुबाहनसंग हुन्छ र युद्धमा उसले आफ्नै पितालाई मार्छ ।| उल्लूपिले आफ्नो नाग मणीको सहायताले उसलाई बचाउँछे।
भर्भराउंदो उमेरको अभिमन्यु मारिंदा ऊ बाँचेको कथा लेखिन्न र अर्जुन बाँचेको कथा लेखिन्छ। आखिर महाभारतमा किन यस्तो गरियो होला ?
शायद अभिमन्यु अपूर्ण ज्ञान ,वीरता र नियतिको प्रतीक हो। त्यसले युद्धको मोड र कथाको गहिराइ भने बढायो।
तर अर्जुन महाभारतको नायक हो उसले मृत्यु र पुनर्जीवन पाउनुले नै कर्मको निरन्तरता प्राप्त गर्छ। अर्जुनले शिखण्डीलाई अगाडी राखेर भीष्मकोबध गरे। त्यो श्राप उनलाई लागेको थियो। कर्मको फल सबैले भोग्नुपर्छ। अर्जुनले त्यसैको लागि मृत्युसम्म पुग्नुपर्यो। छलयुक्त उनको कार्यको लागि उनले दण्ड भोग्नुपर्यो। तर धर्म रक्षाको लागि अभिमन्यु भन्दा अर्जुन अनुभवी पात्र थिए। अनेक हण्डर र ठक्कर खाएर खारिएका पात्र थिए।
पक्कै पनि महाभारतमा माथि उल्लेख गरिएका इरावन,अभिमन्यु र बर्बरिक जस्ता पात्रहरुको महत्ता कम छैन। महाभारतमा तिनले सत्यको लागि आफ्नो जीवन दिए,कमजोरको लागि आफुलाई उत्सर्ग गरे,आफ्नो समर्पणले धर्म स्थापनाका लागि योगदान गरे।
अर्जुनमा एउटा निर्जन जंगल खाण्डप्रस्थलाई भब्य इन्द्रपस्थ बनाएको अनुभव थियो। सुभद्रा लगायतसँग प्रेम बाँडेको अनुभव थियो। कृष्णसँगको संगतले राजनीति,रणनीति,कुटनीतिको अनुभव थियो। आफ्नी श्रीमटीको चिरहरण र छोराको मृत्युको आक्रोश थियो। ११ बर्ष बनवास बसेर धैर्य गर्ने अनुभव थियो। अर्जुन समग्रमा प्रेम,घृणा,आक्रोश,संयम, धैर्य ,युद्ध, शान्ति सबै कुराको अनुभवको समिश्रण थियो। त्यसैले ऊ महाभारतको एउटा महत्वपुर्ण नायक थियो।
आज फागुन २१ को निर्वाचनले इरावन, बर्बरिक र अभिमन्यु त जन्मायो। केहीले शहादत प्राप्त गरे , केही सत्ताको छिनाझपटीमा अकालमै नेतृत्वबाट हराए अनि केही बर्बरिक झैं केवल साक्षी बनेर बसेका छन् | चुनावको यो महाभारतमा पाण्डबले जित्नेछन् या कौरबको बाहुल्य हुने हो हेर्न अझै बाँकी छ।


प्रतिक्रिया