भारत र इङ्ल्यान्ड लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनल खेल्दै

भारत र इङ्ल्यान्ड लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनल खेल्दै



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ग्ल्यान्ड खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुकी सवा ७ बजे शुरू हुनेछ ।

टी–२० विश्वकपमा भारत र इङ्ग्ल्यान्डबीच लगातार तेस्रो पटक सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको छ । सन् २०२२ मा इङ्ग्ल्यान्डले भारतलाई सेमिफाइनलमा हराएको थियो । त्यो वर्ष इङ्ग्ल्यान्डले फाइनलमा पाकिस्तानलाई हराएर उपाधि जितेको थियो ।

यस्तै २०२४ मा भारतले इङ्ग्ल्यान्डलाई सेमिफाइलनमा हराएको थियो । त्यो वर्ष भारतले फाइनलमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टाेलीबीच अहिलेसम्म २९ पटक भेट भएकाेमा भारत १७ र इङ्ग्ल्यान्ड १२ खेलमा विजयी भएकाे छ ।

यस्तै टी–२० विश्वकपमा यी दुई टाेलीबीच अहिलेसम्म ५ पटक भेट भएकाेमा भारत ३ र इङ्ग्ल्यान्ड २ खेलमा विजयी भएकाे छ ।

‘सुपर–एट’ मा भारत समूह एक को दोस्रो र इङ्ग्ल्यान्ड समूह दुई बाट शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको छ ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।