सर्लाही-४ मा समानुपातिकतर्फ रास्वपालाई प्रत्यक्षभन्दा १० हजार बढी मत

सर्लाही-४ मा समानुपातिकतर्फ रास्वपालाई प्रत्यक्षभन्दा १० हजार बढी मत


ग्लोब नेपाल
351
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थप बलियाे उपस्थिति जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार यस क्षेत्रमा रास्वपाले अन्य परम्परागत दलहरूलाई निकै पछाडि पार्दै अग्रता कायम गरेको हो ।

समानुपातिकतर्फ रास्वपाले कुल ४५ हजार ५ सय १६ मत प्राप्त गरेको छ । यो मत सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले पाएको मतको तुलनामा निकै बढी हो । प्रत्यक्षतर्फ डा. सिंह ३५ हजार ६ सय ८८ मतका साथ विजयी भएका थिए, तर समानुपातिकमा भने रास्वपाले उनले पाएको मतभन्दा करिब १० हजार बढी मत ल्याएर आफ्नो बलियो जनमत प्रदर्शन गरेको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसको प्रदर्शन भने समानुपातिकतर्फ फितलो देखिएको छ । प्रत्यक्षतर्फ पार्टी सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३१ मत प्राप्त गर्दा समानुपातिकमा कांग्रेसले मात्र १८ हजार ८१ मतमा चित्त बुझाउनुपरेको छ । प्रत्यक्षका उम्मेदवार थापाले पाएको मत र समानुपातिकमा पार्टीले पाएको मतको यो अन्तरले कांग्रेसका कैयौँ समर्थकले प्रत्यक्षमा आफ्ना नेतालाई मतदान गरे पनि समानुपातिकमा भने ‘घण्टी’ रोजेको देखिन्छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा समानुपातिकतर्फ कुल ७८ हजार ८१ मत खसेको थियो । जसमध्ये ७५ हजार ४ सय ६३ मत सदर भएको र बाँकी मत बदर भएको जानकारी दिइएको छ ।