काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा ओर्लिएको छ ।
आज कारोबार रकम भने निकै ठूलो उछाल आएको छ । मंगलबार ३२९ वटा कम्पनीको कुल ५ करोड २७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारो बार रकम करिब ७ महिना यताकै धेरै हो ।
आज कारोबार भएका कम्पनीमध्ये जम्मा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताहरूले भने उच्च नाफा कमाएका छन् । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै सालपा विकास बैंकको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ९.०८ प्रतिशत र कालिका पावर कम्पनीको सेयर मूल्य ८.८७ प्रतिशतले बढेको छ । हिमस्टार उर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले बढेको छ ।
बजारमा आज म्युचुअल फण्ड, जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा सुधार देखिँदा बाँकी समूहका सूचक घटेका छन् ।


प्रतिक्रिया