काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा होमिएकोमा यसपटकको निर्वाचनले देशको राजनीतिक मानचित्रलाई पूर्णतः बदलिदिएको छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जनलहरसहित १६५ मध्ये १२५ सिटमा सानदार जित दर्ता गरेको छ । रास्वपाको यो उदयसँगै परम्परागत ठूला दलहरू निकै सानो आकारमा खुम्चिन पुगेका छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १८ स्थानमा जित निकालेर दोस्रो दल बनेको छ भने नेकपा एमाले ९ सिटमा सीमित भएको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ र नवगठित श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले समान एक-एक सिटमा विजय हासिल गरेका छन् ।
संसद्मा उपस्थिति कमजोर भए पनि देशव्यापी जनमतको आधारमा नेपाली कांग्रेस अधिकांश स्थानमा दोस्रो शक्तिका रूपमा देखिएको छ । समग्र १६५ निर्वाचन क्षेत्रको नतिजा विश्लेषण गर्दा ८४ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार निकटतम प्रतिस्पर्धी (उपविजेता) बनेका छन् । रास्वपाले जितेका १२५ मध्ये ७३ वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार नै दोस्रो स्थानमा रहेका छन् । कांग्रेसले चुनाव जितेका १८ मध्ये ८ ठाउँमा एमाले, ६ ठाउँमा नेकपा, २ ठाउँमा रास्वपा र बाँकी २ ठाउँमा श्रम संस्कृति पार्टीका उम्मेदवार निकटतम प्रतिस्पर्धी बनेका छन् ।
यस निर्वाचनमा पुराना दलका शीर्ष नेताहरूले नयाँ अनुहारसँग फराकिलो मतान्तरले हार व्यहोरेका छन् । सबैभन्दा चर्चित भिडन्त रहेको झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १८ हजार ७३४ मतमा सीमित हुँदै उपविजेता बनेका छन् ।
त्यसैगरी, चितवन-३ मा रास्वपाकी सोविता गौतमले ५९ हजार २७७ मत ल्याएर विजय हासिल गर्दा नेकपाकी रेनु दाहाल २० हजार ६१५ मतसहित पराजित भइन् । सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित हुन पुगेका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापा २२ हजार ८३१ मतमा रोकिए ।
मोरङ-६ मा कांग्रेसका अर्का प्रभावशाली नेता डा. शेखर कोइराला रास्वपाकी रुविना आचार्यसँग पराजित भए । गुल्मी-१ मा रास्वपाका सागर ढकालसँग एमालेका प्रदीपकुमार ज्ञवाली र गुल्मी-२ मा गोविन्द पन्थीसँग एमाले उपाध्यक्ष गोकर्णराज विष्टले पराजय भोगेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले चितवन-२ बाट ५४ हजार ४०२ मत ल्याएर शानदार जित निकालेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत पाइन् । तनहुँ-१ मा रास्वपाकै स्वर्णिम वाग्लेले ३८ हजार ४० मतसहित कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गरेका छन् ।
यस चुनावमा नयाँ दलका रूपमा ‘श्रम संस्कृति पार्टी’ उदाएको छ । सुनसरी-१ बाट हर्कराज राई (३५,७४१ मत), भोजपुरबाट ध्रुवराज राई (१६,६६३ मत) र खोटाङबाट आरेन राई (१६,६१२ मत) ल्याएर संसद्को यात्रा तय गरेका छन् । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पामा वर्षमान पुन र कालिकोटमा महेन्द्रबहादुर शाही लगायतले चुनाव जितेका छन् । राप्रपाका तर्फबाट जुम्लामा ज्ञानबहादुर शाही र म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा वैज्ञानिक महावीर पुन भारी मतान्तरले विजयी भएका छन् ।


प्रतिक्रिया