चितवन । भरतपुर महानगरपालिकाले बसपार्क बाहिर गाडी कर उठाउन नपाउने भएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले महानगरपालिकाले उठाउँदै आएको गाडी कर अब केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कबाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो ।
मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर गाडी कर सङ्कलन बन्द गर्ने निर्णय गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।
उनका अनुसार बैठकले भरतपुर महानगरक्षेत्रभित्र रहेका यातायात व्यवसायी संस्थाका टिकट काउण्टर पनि ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्न निर्देशन दिएको छ ।
अब बसपार्कभन्दा बाहिर कतै पनि बसका टिकट काट्न नपाउने शर्माले जानकारी दिए । यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दूरीका गाडी सञ्चालन, मालवाहक गाडीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो ।


प्रतिक्रिया