काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्दै जनताको फैसलालाई उच्च सम्मान गर्ने बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीले अपेक्षा गरेअनुसारको परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले लोकतन्त्रमा जनता नै निर्णायक हुने उल्लेख गरे । “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,” उनले भने, “जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।”
पराजित भए पनि कठिन घडीमा आफू र आफ्नो पार्टीलाई साथ दिनेहरूप्रति उनले आभार व्यक्त गरे । सूर्य चिह्नमा मतदान गर्ने मतदाता, पार्टीका नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए ।
निर्वाचनको परिणाम प्रतिकूल आए पनि जनसेवा र देशप्रतिको आफ्नो प्रतिबद्धतामा कुनै कमी नआउने उनले प्रष्ट पारे । उनले भने, “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।”
एमालेका ‘हेभीवेट’ नेता ओली र रास्वपाका उम्मेदवार बालेन शाहबीचको यो प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो । पराजयका बाबजुद ओलीले सार्वजनिक गरेको यो अभिव्यक्तिले चुनावी परिणामलाई उनले स्वभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएको संकेत गरेको छ । उनले अन्त्यमा आफूलाई मत दिने र विश्वास राख्ने सबैलाई हृदयदेखि धन्यवाद समेत दिए ।


प्रतिक्रिया