कांग्रेसमा आधिकारिकताको विवाद: सर्वोच्चमा आज सुनुवाइ

कांग्रेसमा आधिकारिकताको विवाद: सर्वोच्चमा आज सुनुवाइ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको आधिकारिकताको विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज सुनुवाइ हुने भएको छ ।

निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिट सर्वोच्च अदालतमा पेसीमा चढेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको छ । अदालत प्रशासनका अनुसार सो मुद्दा पेसी क्रम सङ्ख्या २२ मा राखिएको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकताको विवाद चर्किएको थियो । सोही विवादका बीच तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका हुन् ।

देउवा र पूर्णबहादुर खड्काको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठमार्फत दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर गर्न तथा विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै भंग गर्न माग गरिएको छ ।

देउवा पक्षले नियमित महाधिवेशनको मिति पहिले नै तोकिसकेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नुको औचित्य नहुने तर्क गर्दै उक्त महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।