इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी केन्टको राजीनामा

इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी केन्टको राजीनामा



काठमाडौं । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिएका छन् । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति असहमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

केन्टले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन् । इरान अमेरिकाका लागि तत्काल खतरा नभएको पत्रमा उल्लेख छ । केन्टले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा इरानसँग युद्ध शुरू गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

४५ वर्षीय केन्टलाई अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति मानिन्छ । उनकी श्रीमती शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’का रूपमा काम गरेकी थिइन् । सन् २०१९ मा सिरियामा भएको आक्रमणमा उनी मारिएकी थिइन् ।

केन्टको राजीनामापछि राष्ट्रपति ट्रम्पले सुरक्षाका मामिलामा कमजोर भएको आरोप लगाउँदै उनको बहिर्गमन उचित भएको प्रतिक्रिया दिएकाे छ ।