एल्गोरिदमले मतदाताको दिमाग र निर्णय कब्जा गर्‍यो : नेपाली कांग्रेस

एल्गोरिदमले मतदाताको दिमाग र निर्णय कब्जा गर्‍यो : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै प्रविधिको‘एल्गोरिदम’ र ‘लोकप्रियतावाद’ को लहरका कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ ।

पार्टीले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो समीक्षा प्रतिवेदनमा आधुनिक प्रविधिले मतदाताको स्वतन्त्र विवेकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा बढेको लोकप्रियतावादको लहरलाई गम्भीर रूपमा लिन नसक्नु पार्टीको ठुलो कमजोरी रहेको उपसभापति विश्वप्रकाश शर्माले बताए ।

निर्वाचनमा विचार, सिद्धान्त र एजेन्डाभन्दा पनि जनताको असन्तुष्टि, आवेग र निराशालाई‘कच्चा पदार्थ’ बनाएर मत बटुल्ने काम भएको कांग्रेसको ठहर छ ।

‘पुराना सबै खराब र नयाँ आएपछि सबै ठिक हुन्छ’ भन्ने भाष्य निर्माण गरेर मतदाताको निर्दोष मनोविज्ञानमा प्रभाव पारिएको समीक्षामा उल्लेख छ। कतिपय ठाउँमा मतदाताले उम्मेदवार नै नचिने पनि ‘एक पटक नयाँलाई हेर्ने’ लहरका कारण मतदान गरेको कांग्रेसले जनाएको छ ।

प्रतिवेदनमा सबैभन्दा रोचक विषय ’एल्गोरिदम’ को प्रभावलाई बनाइएको छ। कांग्रेसले भनेको छ, ‘पहिले भू–भाग कब्जा गरिन्थ्यो, अहिले एल्गोरिदमले मानिसको दिमाग, व्यवहार र निर्णय कब्जा गर्छ।’ परम्परागत प्रचार शैलीबाट आधुनिक बन्ने क्रममा रहे पनि नेपाली मतदातालाई एल्गोरिदमको ’कैद’ बाट मुक्त गराएर स्वतन्त्र विवेकको खुला मैदानमा ल्याउन नसक्नु पराजयको मुख्य कारण रहेको कांग्रेसको निष्कर्ष छ ।

त्यसैगरी निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा आफ्ना सफल नीतिहरूको स्वामित्व लिन नसक्नु र विपक्षीको भ्रामक प्रचारलाई चिर्न नसक्नुलाई समेत कारण मानेको छ । पार्टीको प्रारम्भिक समीक्षा प्रतिवेदनमा निजी क्षेत्रको विकास, वैदेशिक रोजगारीको बाध्यता र गैर आवासीय नेपालीहरूसँगको सम्बन्धका बारेमा आत्ममन्थन गरिएको छ ।

प्रतिवेदनमा नेपालमा आज निजी क्षेत्रको जुन व्यापक उपस्थिति छ, त्यो कांग्रेसले लिएको नीतिकै परिणाम भएको जिकिर गरिएको छ । जुत्ता उत्पादनदेखि बिजुली उत्पादनस र बैंक, अस्पताल तथा सञ्चार माध्यमहरूसम्मको विस्तार कांग्रेसकै उदार आर्थिक नीतिका कारण सम्भव भएको प्रतिवेदनमा जिकिर गरिएको छ ।

तर, सरकारले जुत्ता उत्पादन गर्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भन्ने सामान्य कुरा जनतालाई बुझाउन नसक्दा उल्टै आलोचना खेप्नुपरेको कांग्रेसको निष्कर्ष छ ।