काठमाडौं । काठमाडौंका महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह (बालेन) ले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूले सिंहदरबार जलाइदिन्छु भन्ने शब्द प्रयोग नगरेको बताएका छन् ।
साथै उनले भदौ २३ र २४ गते आफू सरकारी निवास लैनचौरमा रहेको र २३ गतेको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन भए पनि आन्दोलनमा सहभागी नरहेको बयान दिएका छन ।
उनले बयानमा भनेका छन, ‘२३ गते स्थिति तनावपूर्ण हुँदै गएका बेला सञ्चारमाध्यमबाट थाहा पाएँ’ ‘व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो ।’
उनले आन्दोलनमा जनधनको रक्षाका लागि सामाजिक सञ्जालबाट संयमता अपनाउन अपिल गरेको र घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरेर घाइते र मृतकहरूलाई सहयोग गरेको पनि जनाएका छन् ।
‘२४ गतेको घटना दुःखद थियो र २३ गतेको सरकारको अत्यधिक बल प्रयोग र आतङ्कवादी शैलीको नतिजा हुनसक्छ’, बालेनले बयानमा भनेका छन्, ‘२४ गते कामनपाले समयमै दमकल पठाएको थियो ।’
उनले तत्कालीन सरकारले अपराध र आतङ्कवादी क्रियाकलाप गरेको भन्दै सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलहरूले लिनुपर्ने बताएका छन् ।
प्रतिवेदनमा काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरे डाँडा जाँदै गर्दा अनावश्यक रूपमा रोकेपछि विरोधस्वरुप मेटाफोरका रूपमा फेसबुकमा अभिव्यक्ति दिए पनि ‘जलाई दिन्छु’ शब्द प्रयोग नभएको दावी गरेका छन् ।


प्रतिक्रिया