यी हुन् जेनजी आन्दोलनमा सोसल मिडियाबाट भ्रामक प्रचार गर्नेहरू

यी हुन् जेनजी आन्दोलनमा सोसल मिडियाबाट भ्रामक प्रचार गर्नेहरू



काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।

सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहँदा सञ्चारमाध्यमहरुले प्रतिवेदनका अन्तरवस्तु धमाधम सार्वजनिक गरिरहेका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ ।

आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा भ्रामक प्रचार गर्नेहरू कलाकारदेखि सोसल मिडिया इन्फ्लुन्सरसम्म छन् ।

‘भ्रामक प्रचारहरू जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरियो । त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरियो,’ जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको पाइन्छ ।’

साथै एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सबाट तत्कालीन प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको र उनले आफै देखेको भ्रामक प्रचार गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै पूर्व राजालाई स्वागत गर्न र फेरि राजा बनाउन नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने समाचार पनि सामाजिक सञ्जालमा प्रेषित गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पत्रकार दिलभूषण पाठकले हिल्टन होटलसम्बन्धी बनाएको समाचारको विषय पनि प्रतिवेदनमा समावेश छ ।