काठमाडौं । नेपालका आदिवासीहरुको साझा संस्था नेपाल जनजाति महासंघको निवर्तमान नेतृत्वले आदिवासीहरुको सामुहिक अधिकारलगायत स्थापित गर्न ल्याइएको विदेशी अनुदानको रकम जग्गा खरीद गर्न खर्च गरेको पाइएको छ ।
चैत ५ देखि ८ गतेसम्म काठमाडौंमा भएको ११ औं महाधिबेशनको बन्द सत्रमा पेश भएको आर्थिक प्रतिबेदन अनुसार महासंघले २७ करोडभन्दा बढी रकम प्राप्त गरेकोमा एक करोड १२ लाख ६९ हजार ८५० रुपैयाँ खर्च गरेर ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित कान्तिपुर कोलोनी नजिक १४ आना जग्गा खरिद गरेको छ ।
जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजातिको सामुहिक अधिकार सुनिश्चितताका लागि अभियान सन्चालन गर्न विभिन्न दातृसंस्थाबाट महासंघमा प्राप्त सो सहयोग रकम हो ।
महासंघलेअन्तराष्ट्रिय गैह्रसरकारी संस्था पवन्का फन्ड, इगिया, टेवटेवा, विश्व खाद्य संगठन, युएनडिपी, आयुसिएन लगायतका ९ वटा दातृसंस्थाबाट करिव २७ करोड रकम ल्याएको थियो ।
ती परियोजनाको परिणाम दिने गरी कार्य नगरी महासंघको नेतृत्वले भवन बनाउने प्रयोजनका लागि जग्गा खरिद गरेको छ । २०७८ साल चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न १० औं महाधिबेशनबाट गेल्जे लामा शेर्पासमेतको टिम महासंघको नेतृत्वमा आएको थियो । शेर्पाले महासंघको आफ्नै भवन निर्माण गर्ने प्रमुख एजेन्डा अघि सारेर निर्वाचित भएका थिए ।
तर उनले भवन बनाउन व्यक्तिगत रकमको कुनै योगदान नदिई परियोजनाको रकम खर्च गरेर भवन बनाउन आफुले योगदान दिएको दावी गरेका छन् ।
काठमाडौंमा सम्पन्न ११ औं महाधिबेशनले नीमा लामा ह्योल्मोको अध्यक्षतामा नयाँ संघीय परिषद गठन गरेपछि निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पासहितको टिम बाहिरिएका हुन् ।
शेर्पाको टिम बाहिरिए पनि तत्कालिन कोषाध्यक्ष विमल सारु मगर महासचिव भएका छन् । उनको आर्थिक विवरणहरु पनि विवादास्पद रहेका छन् ।


प्रतिक्रिया