नियमित महाधिवेशन गर्न साझा विन्दु खोजौं : प्रकाशशरण महत

नियमित महाधिवेशन गर्न साझा विन्दु खोजौं : प्रकाशशरण महत



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आउँदो नियमित महाधिवेशनका निम्ति ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टी हाल इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उनले उल्लेख गरे ।

उनले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म कांग्रेस बलियो हुन नसक्नेमा जोड दिए । संसद्‌मा कांग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई उनले ‘अत्यन्त न्यूनतम संख्या’ भनेका छन् । यसलाई मध्यनजर गर्दै समग्र पार्टीपंक्ति एकीकृत हुनुपर्ने उनले बताए ।

डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गरे । आमनिर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भए पनि त्यसको परिणाम सशक्त आउन नसकेको उनको ठम्याइ छ ।

हालको विवाद समाधानका निम्ति विगतका गल्ती कोट्ट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा विन्दु पहिल्याउनुपर्ने उनको सुझाव छ ।

उनले अब नियमित महाधिवेशन सम्पन्न गर्न विशेषमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रस्ताव गरे ।

यही चैत २२ गते अदालतबाट आउन सक्ने निर्णयले कानुनी पाटो सम्बोधन गर्ने भए पनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उनले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पारे ।