दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण



संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस आक्रमणलगत्तै अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलर नाघेको छ । सोमबार मात्रै यो सूचक सन् २०२२ यताकै पहिलो पटक १०० डलरभन्दा माथि पुगेको थियो ।

कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार अंकरेज क्षेत्रमा रहेको ‘अल–सल्मी’ नामको जायन्ट ट्यांकरमा सिधै आक्रमण भएको हो ।

कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)ले यो आक्रमणलाई ‘आपराधिक’ भन्दै कडा शब्दमा निन्दा गरेको छ र समुद्रमा तेल चुहावटको जोखिम रहेको जनाएको छ ।

कम्पनीका अनुसार घटनाका बेला ट्यांकर पूर्णरूपमा कच्चा तेलले भरिएको थियो । आक्रमणबाट ट्यांकर क्षतिग्रस्त भएको छ । भिडियोहरुमा जहाजमा आगो लागेको देखिएको छ । यद्यपि मानवीय क्षति नभएको जनाइएको छ ।

दुबई मिडिया अफिसका अनुसार समुद्री अग्निनियन्त्रक टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । ‘दुबईका अधिकारीहरूले अङ्करेज ‘ई’ क्षेत्रमा कुवेती ट्यांकरमा ड्रोन आक्रमण भएको घटनामा तत्काल प्रतिक्रिया जनाएका छन् । हाल आगो नियन्त्रण र अवस्थाको व्यवस्थापन स्थापित प्रक्रियाअनुसार भइरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

यस्तै, बेलायती सेनाद्वारा सञ्चालित युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेशन्सले पनि यस घटनाको पुष्टि गर्दै जहाज दुबईबाट करिब ३१ नटिकल माइल (५७ किलोमिटर)उत्तर–पश्चिममा रहेको बेला आक्रमणमा परेको जनाएको छ । प्रारम्भिक विवरणमा वातावरणीय असरबारे कुनै पुष्टि नभएको उल्लेख गरिएको छ ।