एनआरएनए प्रतिनिधिमण्डल र मन्त्री खनालबीच भेटवार्ता

एनआरएनए प्रतिनिधिमण्डल र मन्त्री खनालबीच भेटवार्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेको छ । भेटका क्रममा मन्त्री खनाललाई बधाई दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिँदै भने, “विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ ।”

उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न, अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गरे ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ र सहकार्य गर्न सक्ने उल्लेख गर्दै भने, “सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान, सिप र प्रविधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ ।”

उनले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिए । भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड दिए ।

हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आभार व्यक्त गर्दै भने, “यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा हाम्रो नेतृत्व तहमा स्थापित छ ।” आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै “सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ” रहेको अध्यक्ष शर्माले धारणा राखे ।

मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सारे ।

मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै तिनलाई कार्यान्वयनमा लैजानुपर्ने, नागरिकता सम्बन्धी विषयमा सकारात्मक रहे पनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यकताको संकेत गरे । पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको प्रष्ट पारे ।

विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार पनि गरे । भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए भने दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको छ । सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जुन २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ ।

साथै, एनआरएनएले मन्त्री खनाललाई बुझाएको पत्रमा गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन, सम्बन्धित ऐन संशोधन, वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधनलगायतका माग राख्दै दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने लगायतका विषयमा सहजीकरणका लागि अनुरोध गरिएको छ ।